Skip to Content

मतदाता दर्तासम्बन्धी बारम्बार सोधिने प्रश्नहरू

मतदान गर्न कसले दर्ता गर्न सक्छ?

योग्यतासम्बन्धी आवश्यकताहरू

तपाईंले निम्न सर्तहरू पूरा गर्नुभएको छ भने मतदाता दर्ता गर्न र मतदान गर्न सक्नुहुन्छ:

  • संयुक्त राज्य अमेरिकाको नागरिक (U.S. Citizen) र California राज्यको बासिन्दा,
  • चुनावको दिन 18 वर्ष वा सोभन्दा बढी,
  • हाल राज्य वा संघीय कारागारमा कैदमा नरहेको, र
  • हाल अदालतले मतदान गर्न मानसिक रूपमा अयोग्य ठहर नगरिएको (थप जानकारीको लागि कृपया  मतदान अधिकार: कानुनी संरक्षकत्वमा रहेका व्यक्तिहरू हेर्नुहोस् ।

आपराधिक इतिहास भएका
तर मतदाता दर्ता गर्न सक्ने व्यक्तिहरू:

  • काउन्टी जेलमा:
    • मिस्डिमिनर को सजाय भोगिरहेका व्यक्तिहरू (मिस्डिमिनरले तपाईंको मतदान गर्ने अधिकारमा कहिल्यै असर पार्दैन) 
    • प्रोबेसनको सर्तका कारण कारागारमा रहेका (मिस्डिमिनर वा फेलोनी)
    • फेलोनीको जेल सजाय भोगिरहेका
    • मुद्दाको सुनुवाइको प्रतीक्षामा रहेका
  • प्रोबेशन वा प्यारोलमा
  • अनिवार्य सुपरिवेक्षणमा
  • पोस्ट-रिलीज सामुदायिक पर्यवेक्षणमा
  • संघीय पर्यवेक्षित रिहाइमा
  • किशोर न्यायालयद्वारा संरक्षण तथा निगरानीमा राख्ने निर्णय गरिएका

आपराधिक इतिहास भएका व्यक्तिहरू जो
दर्ता गर्न र मतदान गर्न सक्दैनन्:

  • हाल कारागार कैद:
    • राज्य कारागार
    • संघीय कारागार
  • हाल काउन्टी जेल वा अन्य सुधारगृहमा राज्य कारागारमा सजाय भोग्नुपर्ने अपराधका लागि कैदमा रहेका *
  • हाल फेलोनी कसुरमा राज्य वा संघीय कारागारमा स्थानान्तरणको प्रतीक्षामा काउन्टी जेलमा रहेका
  • हाल प्यारोलको सर्त उल्लङ्घन गरेको कारण काउन्टी जेलमा रहेका
म मतदाता दर्ता कहिले गर्न सक्छु?

कुनै प्रतीक्षा अवधि छैन। तपाईंले जुनसुकै समयमा मतदाता दर्ता वा पुनःदर्ता गर्न सक्नुहुन्छ। निर्वाचनमा मतदान गर्न योग्य हुन, तपाईंले निर्वाचनको दिनभन्दा कम्तीमा 15 दिनअघि मतदाता दर्ता गरिसकेको हुनुपर्छ।

मतदाता दर्ता गर्न फाराम कसरी प्राप्त गर्न सक्छु?
  • California को अनलाइन मतदाता दर्ता प्रणाली प्रयोग गरी अनलाइन दर्ता गर्नुहोस्।
  • अधिकांश सरकारी भवनहरूमा उपलब्ध मतदाता दर्ता फाराम प्राप्त गरी भरेर हुलाकमार्फत पठाउनुहोस्।
  • RR/CC का कार्यालयहरू वा अधिकांश सरकारी भवनहरूमा व्यक्तिगत रूपमा उपस्थित भएर।
  • कल गर्नुहोस् (800) 481-VOTE, (213) 257-8829।

थप जानकारीको लागि, दर्ता जानकारी हेर्नुहोस्

मैले मोटर सवारी विभाग (DMV) को कार्यालयमा मतदाता दर्ता गरेको थिएँ। तर काउन्टीले मेरो दर्ता नभएको किन भन्छ?

DMV कार्यालयमा मतदाता दर्ता गरेको ठानेका धेरै नागरिकहरू वास्तवमा दर्ता भएका छैनन्। उनीहरूले DMV फाराममा मतदाता दर्ता गर्न चाहेको जनाउने कोठामा चिन्ह लगाए पनि धेरैले त्यससँगै संलग्न मतदाता दर्ता फाराम भर्न बिर्सिएका छन्। दर्ता भएको मतदाता बन्नका लागि मतदाता दर्ता फाराम भरेर हस्ताक्षर गर्न अनिवार्य छ।

यदि म भर्खरै नयाँ ठेगानामा सरेको छु तर पुनःदर्ता गरेको छैन भने, के म मतदान गर्न योग्य हुनेछु?

यदि तपाईं पहिले Los Angeles काउन्टीमा मतदाता दर्ता भएको हुनुहुन्थ्यो र काउन्टीभित्रै नयाँ ठेगानामा सरेपछि पुनःदर्ता गर्नुभएको छैन भने, तपाईंले नयाँ ठेगानाको मतदान केन्द्रमा मतदान गर्न सक्नुहुन्छ। तपाईंलाई प्रोभिजनल मतपत्र मार्फत मतदान गर्न र त्यसको खाममा आफ्नो नयाँ तथा पुरानो ठेगाना उल्लेख गर्न भनिनेछ।

म दर्ता गरेर मतदान गर्न चाहन्छु, तर म एक सार्वजनिक व्यक्तित्व हुँ। के मेरो ठेगाना सार्वजनिक गरिनेछ?

हालको राज्य कानुनअनुसार, मतदाता दर्तासम्बन्धी जानकारी सार्वजनिक अभिलेखको रूपमा मानिन्छ। तथापि, मतदाताको घरको ठेगाना र टेलिफोन नम्बरसहितका निश्चित व्यक्तिगत जानकारीमा सार्वजनिक पहुँच प्रतिबन्धित गरिएको छ। कुनै पनि व्यक्तिले उच्च अदालत (Superior Court) को आदेश वा आफू राज्य सचिवको कार्यालयद्वारा सञ्चालित घरेलु हिंसा तथा पिछा गर्ने गतिविधिबाट पीडित व्यक्तिहरूका लागि ठेगाना गोपनीयता कार्यक्रम (Address Confidentiality Program) मा सहभागी भएको प्रमाणपत्र प्रस्तुत गरी आफ्नो बसोबासको ठेगाना, टेलिफोन नम्बर र इमेल ठेगाना गोप्य राख्न अनुरोध गर्न सक्छन्।

यी परिस्थितिहरूमा गोपनीयता प्रदान गरिएका व्यक्तिहरूलाई त्यसपछिका सबै काउन्टी निर्वाचनहरूमा अनुपस्थित मतदाता (Absentee Voter) का रूपमा मानिनेछ। अदालत, राज्य सचिवको कार्यालय वा सम्बन्धित मतदाताले लिखित रूपमा काउन्टीलाई अन्यथा सूचना नदिएसम्म यो व्यवस्था कायम रहनेछ।

अपवादहरू: मतदातासम्बन्धी जानकारी निम्न व्यक्ति वा निकायहरूलाई उपलब्ध गराउन सकिन्छ:

  • उम्मेदवारहरू
  • निर्वाचन अभियान समितिहरू
  • निर्वाचन, शैक्षिक अनुसन्धान, पत्रकारिता, राजनीतिक वा सरकारी प्रयोजनका लागि उक्त जानकारी प्रयोग गर्न अधिकार प्राप्त व्यक्तिहरू
मतदाता दर्ताको अन्तिम मिति पछि नागरिकता प्राप्त गर्ने समारोहमार्फत म नयाँ अमेरिकी नागरिक बनेको छु। के म अझै पनि मतदाता दर्ता गरेर मतदान गर्न सक्छु?

हो। मतदाता दर्ताको अवधि समाप्त भएपछि अमेरिकी नागरिकता प्राप्त गरेका व्यक्तिहरूले निर्वाचनको दिनसम्म मतदाता दर्ता गरी मतदान गर्न सक्छन्। तपाईंले Norwalk मुख्य कार्यालयमा मात्र मतदाता दर्ता गरी मतदान गर्नुपर्छ। नयाँ नागरिकहरूले अमेरिकी नागरिकता प्राप्त गरेको प्रमाणपत्र (Certificate of Naturalization) प्रस्तुत गर्नुपर्छ र आफूले Los Angeles काउन्टीमा बसोबास स्थापित गरेको घोषणा गर्नुपर्छ।

के म आफ्नो व्यवसायको ठेगानामा मतदाता दर्ता गर्न सक्छु वा पि.ओ. बक्स नम्बर प्रयोग गर्न सक्छु?

होइन। कुनै पनि व्यक्तिले आफ्नो वास्तविक बसोबासको ठेगानामा मात्र मतदाता दर्ता गर्न सक्छन्। व्यवसायको ठेगाना वा पि.ओ. बक्स (P.O. Box) नम्बर पत्राचार गर्ने ठेगानाका रूपमा मात्र प्रयोग गर्न सकिन्छ।

म कलेजको क्याम्पसमा वा त्यसको वरपर, आफ्नो घरबाट टाढा बस्ने विद्यार्थी हुँ। के म कलेजमा बसोबास गर्ने ठेगाना प्रयोग गरेर मतदाता दर्ता गर्न सक्छु?

अन्य सबै योग्य नागरिकहरूजस्तै, कलेजका विद्यार्थीहरूले पनि कलेजमा बसोबास गर्ने ठेगाना प्रयोग गरेर मतदाता दर्ता गर्न सक्छन् वा आफ्नो परिवारको बसोबासको ठेगाना प्रयोग गर्न रोज्न सक्छन्। California को कानुन (निर्वाचन संहिताको दफा 2025) अनुसार, कलेजका विद्यार्थीहरूले चाहेमा आफू अध्ययन गर्ने स्थानलाई आफ्नो स्थायी वा कानुनी बसोबासको स्थानका रूपमा कायम गर्न सक्छन्।

मैले अघिल्लो निर्वाचनमा मतदान गरेको थिइनँ। के मैले पुनः मतदाता दर्ता गर्नुपर्छ?

पर्दैन। तपाईंको बसोबासको ठेगाना परिवर्तन नभएसम्म तपाईंको मतदाता दर्ता कायम रहन्छ र तपाईंले हुलाकमार्फत निर्वाचनसम्बन्धी सामग्रीहरू प्राप्त गरिरहनुहुनेछ। तर, तपाईं अर्को ठेगानामा सर्नुभएको छ वा पछिल्ला धेरै निर्वाचनहरूमा मतदान गर्नुभएको छैन भने, तपाईंलाई आफ्नो ठेगाना परिवर्तन नभएको पुष्टि गर्न वा हालको बसोबासको ठेगानासम्बन्धी जानकारी उपलब्ध गराउन अनुरोध गर्दै सूचना पठाइने सम्भावना हुन्छ। ठेगाना पुष्टि गर्न पठाइएको सूचनाको जवाफ नदिएमा वा उक्त सूचना पठाइएको मितिदेखि लगातार दुईवटा सङ्घीय आम निर्वाचनसम्म भएका कुनै पनि निर्वाचनमा मतदान नगरेमा तपाईंको मतदाता दर्ता रद्द हुन सक्छ।

के मतदाता दर्ता गर्न परिचयपत्र आवश्यक पर्छ?

हेल्प अमेरिका भोट एक्ट (Help America Vote Act – HAVA) अनुसार, राज्य वा सम्बन्धित निर्वाचन क्षेत्राधिकारमा पहिलो पटक मतदाता दर्ता गर्ने व्यक्तिहरूले California को मान्य सवारी चालक अनुमतिपत्र वा राज्यद्वारा जारी गरिएको परिचयपत्रको नम्बर उपलब्ध गराउनुपर्छ। यी दुवैमध्ये कुनै पनि नभएका आवेदकहरूले आफ्नो सामाजिक सुरक्षा नम्बर (Social Security Number) को अन्तिम चार अङ्क उपलब्ध गराउन सक्छन्। मतदाताले उपलब्ध गराएको सवारी चालक अनुमतिपत्र वा राज्यद्वारा जारी गरिएको परिचयपत्रको नम्बर राज्यको अभिलेखसँग मेल खाएमा मतदान गर्दा परिचयपत्र देखाउनुपर्ने छैन। यदि कुनै व्यक्तिले हुलाकमार्फत मतदाता दर्ता गरेको छ र यसअघि सङ्घीय पदका लागि भएको कुनै पनि निर्वाचनमा मतदान गरेको छैन भने, निम्न आवश्यकताहरू लागू हुनेछन्:

यदि कुनै व्यक्तिले हुलाकमार्फत मतदाता दर्ता गरेको छ र यसअघि सङ्घीय पदका लागि भएको कुनै पनि निर्वाचनमा मतदान गरेको छैन भने:

  • व्यक्तिगत रूपमा मतदान गर्दा: फोटोसहितको परिचयपत्र वा मतदाताको नाम र बसोबासको ठेगाना उल्लेख भएको कागजात प्रस्तुत गर्नुपर्छ।
  • हुलाकमार्फत मतदान गर्दा: फोटोसहितको परिचयपत्रको प्रतिलिपि वा मतदाताको नाम र बसोबासको ठेगाना दुवै उल्लेख भएको कागजातको प्रतिलिपि प्रस्तुत गर्नुपर्छ।
यदि म हाल कारागारमा छु भने, के म मतदान गर्न सक्छु?

Los Angeles काउन्टीका कारागारहरूमा रहेका धेरै Californians अझै पनि मतदान गर्न योग्य छन्। कारागारमा रहेका व्यक्तिहरूको मतदानसम्बन्धी जानकारी हाम्रो वेबसाइटमा उपलब्ध छ।

DMV मतदाता दर्ता प्रक्रियामा किन संलग्न छ?

सन् 1993 को राष्ट्रिय मतदाता दर्ता ऐन (National Voter Registration Act of 1993), जसलाई मोटर भोटर ऐन (Motor Voter Act) पनि भनिन्छ, अनुसार मोटर वाहन विभाग (DMV) को कार्यालयमा सेवा लिन आउने व्यक्तिहरूले मतदाता दर्ता गर्न वा आफ्नो मतदाता दर्तासम्बन्धी जानकारी अद्यावधिक गर्न सक्छन्।

मेरो नाम, ठेगाना वा राजनीतिक दलसँगको आबद्धता परिवर्तन भएमा के गर्नुपर्छ?

आफ्नो नयाँ जानकारीसहित मतदाता दर्ता फाराम भरेर पुनः पेस गर्नुहोस्। तपाईंको मतदाता दर्तामा सधैँ हालको बसोबासको ठेगाना उल्लेख भएको हुनुपर्छ। यसले तपाईंलाई मतदान गर्न योग्य उम्मेदवारहरू तथा प्रस्तावहरूसम्बन्धी सही मतपत्र र निर्वाचन सामग्री प्राप्त हुने सुनिश्चित गर्दछ।

यदि मैले मतदाता दर्ता गरेको छैन भने, के म याचिकामा हस्ताक्षर गर्न सक्छु?

होइन। कुनै याचिकामा तपाईंको हस्ताक्षर मान्य हुनका लागि तपाईं दर्ता भएको मतदाता हुनुपर्छ। यदि तपाईंले याचिकामा हस्ताक्षर गरेको दिन वा त्यसअघि नै मतदाता दर्ता फाराम भरेर त्यसमा हस्ताक्षर गर्नुभएको छ भने, याचिकामा तपाईंको हस्ताक्षर मान्य हुनेछ।याचिका निर्वाचन कार्यालयमा पेस गरिएको मितिमा वा सोभन्दा अघि नै निर्वाचन अधिकारीले पूर्ण रूपमा भरिएको र हस्ताक्षर गरिएको मतदाता दर्ता फाराम प्राप्त गरिसकेको हुनुपर्छ।

के जुरी को सदस्यका रूपमा काम गर्न नागरिकहरूको छनोट गर्दा मतदाता दर्ता सूची प्रयोग गरिन्छ भन्ने कुरा सत्य हो?

हो। California राज्यको कानुनअनुसार, जुरी सदस्यहरूको छनोटका लागि दर्ता भएका मतदाताहरूको सूची जुरी आयुक्त (Jury Commissioner) लाई उपलब्ध गराउनुपर्छ। जुरी सदस्यहरूको छनोटका लागि प्रयोग गरिने अर्को स्रोत मोटर वाहन विभाग (DMV) को अभिलेख हो। यसमा अदालतको कार्यक्षेत्रभित्र बसोबास गर्ने सवारी चालक अनुमतिपत्र प्राप्त व्यक्तिहरू र राज्यद्वारा जारी गरिएका परिचयपत्र धारकहरूको सूची समावेश हुन्छ।

ययदि मैले आफ्नो मतदाता दर्ता रद्द गरेँ भने, के मलाई जुरी सदस्यका रूपमा सेवा गर्न उपस्थित हुनुपर्ने सूचना प्राप्त नहुने कुरामा ढुक्क हुन सक्छु?

होइन। जुरी सेवा विभाग (Jury Services Division) ले सक्रिय र रद्द गरिएका मतदाता दर्तासम्बन्धी अभिलेखहरूको सूची माग गर्दछ। यसका अतिरिक्त, क्यालिफोर्निया राज्यको कानुनअनुसार, मोटर वाहन विभाग (DMV) बाट प्राप्त सवारी चालक अनुमतिपत्र भएका व्यक्तिहरूको सूची जुरी आयुक्त (Jury Commissioner) लाई उपलब्ध गराउनुपर्छ।जुरी सदस्यका रूपमा उपस्थित हुनुपर्ने सूचना (Jury Summons) सम्बन्धी थप जानकारीका लागि (213) 974-5332 वा 5333 मा फोन गर्नुहोस् वा Los Angeles काउन्टी जुरी सेवा को वेबसाइट हेर्नुहोस्।

म अर्को भाषा बोल्छु। मैले कसरी दर्ता गर्न सक्छु?

यदि तपाईंलाई अर्को भाषामा मतदाता दर्ता फाराम आवश्यक छ भने, हामी तपाईंलाई सहयोग गर्न सक्छौँ। सङ्घीय तथा राज्य कानुनहरूको पालना गर्दै, लस एन्जलस काउन्टीको रजिस्ट्रार-रेकर्डर/काउन्टी क्लर्क (RR/CC) कार्यालयले चिनियाँ, अङ्ग्रेजी, हिन्दी, जापानी, खमेर, कोरियाली, स्पेनी, तागालोग, थाई र भियतनामी गरी 10 वटा विभिन्न भाषामा मतदाता दर्ता फारामहरू उपलब्ध गराउँछ।

विभिन्न भाषामा निर्वाचनसम्बन्धी सामग्रीहरू प्राप्त गर्न अनुरोध गर्नका लागि (213) 257-8829 मा फोन गर्नुहोस्।

Icon - Close